
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले विभिन्न बालीका करिब नौ सय उन्नत जात विकास गरेको छ। परिषद्ले धान, मकै, गहुँ, कोदो, फापर, जौलगायत अन्नबालीका साथै दलहन, तेलहन, आलु, तरकारी, फलफूल तथा कन्दमूल बालीका उन्नत जात विकास गरी खेतीका लागि सिफारिस गरेको हो।
परिषद्का प्राविधिक अधिकृत ऋषिराम अधिकारीका अनुसार तराईदेखि उच्च पहाडसम्मका विभिन्न भौगोलिक तथा हावापानीमा उपयुक्त हुने, रोग प्रतिरोधी र उच्च उत्पादन दिने बालीका जात विकास गर्न वैज्ञानिक अनुसन्धान गरिएको छ। नार्कले आफ्नो स्थापनादेखि हालसम्म ८५ बालीका ९५४ जात सिफारिस गरिसकेको जनाएको छ। तीमध्ये करिब २०० जात सूचीबाट हटाइएका छन्। धान, मकै, गहुँ, मुसुरो र आलुलगायत प्रमुख बालीमा अनुसन्धानबाट सिफारिस भएका उन्नत जातको प्रयोगसमेत उल्लेख्य रहेको नार्कले जनाएको छ।
आधुनिक कृषि अनुसन्धान तथा विकासका लागि संस्थागत रूपमा काम गर्दै आएको नार्कले कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्दै आएको छ। विभिन्न बाली तथा कृषि वस्तुका जात, नश्ल र उत्पादन प्रविधि विकास गर्न कृषि अनुसन्धान कार्यक्रम सञ्चालन गर्दै आएको परिषद्ले जनाएको छ।
यस्ता अनुसन्धानमार्फत कृषि क्षेत्रमा देखिएका समस्या समाधानका उपाय पहिचान गर्नुका साथै कृषिसम्बन्धी नीति तर्जुमाका लागि सरकारलाई आवश्यक सहयोग पुर्याउँदै आएको परिषद्को भनाइ छ। कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण, आयात प्रतिस्थापन तथा समग्र राष्ट्रिय अर्थतन्त्रको विकासमा कृषि अनुसन्धानको महत्वपूर्ण योगदान रहेको अधिकारीले बताएका छन्।
नार्कका अनुसार खेतीयोग्य क्षेत्रफलमा ठूलो वृद्धि नभए पनि उन्नत बीउ, सिँचाइ, मलखाद र आधुनिक खेती प्रविधिको प्रयोगसँगै प्रमुख खाद्यान्न बालीको उत्पादनमा उल्लेख्य वृद्धि भएको छ। अनुसन्धानबाट सिफारिस भएका उन्नत जात तथा प्रविधिको अझ व्यापक विस्तार गर्न सके धान, मकै र गहुँलगायत बालीको उत्पादन थप बढाउन सकिने सम्भावना रहेको परिषद्ले जनाएको छ।

























