
विराटनगर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोध मोरङ कारागारका कैदीबन्दीहरूले गरेका छन् ।
शनिबार साँझ जिल्ला कारागार मोरङको ‘ए’ ब्लकका कैदीबन्दीहरूले कारागारभित्रै दीप प्रज्वलन गरी उक्त घटनाको कडा शब्दमा निन्दा गरेका हुन् । दीप प्रज्वलनका क्रममा कैदीबन्दीहरूले मृतक बालिका गरिमाको आत्माको शान्तिको कामना गर्दै केही बेर मौनधारण गरेका थिए ।
उनीहरूले यस्तो जघन्य अपराधमा संलग्न दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने र कडाभन्दा कडा कानुनी कारबाही हुनुपर्ने माग समेत गरेका छन् ।
मोरङ कारागारका प्रशासक राजन घिमिरेले कारागारका ‘ए’ ब्लकका कैदीबन्दीहरूले भित्रै स्वतः स्फूर्त रूपमा बालिकाको हत्याको विरोधमा दीप प्रज्वलन र शोक व्यक्त गरेको जानकारी दिए ।
कारागारमा हाल पुरुष र महिला गरी १ हजार २ सय २९ जना कैदीबन्दी रहेका छन् । कारागारको ‘ए’ ब्लकमा ५५३ जना र ‘बी’ ब्लकमा ५६५ जना पुरुष कैदीबन्दी छन् । यस्तै, २ जना नाबालकसहित १११ जना महिला कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।



















