अविरल वर्षापछि प्रमुख राजमार्ग प्रभावित, मेची राजमार्ग पूर्ण अवरुद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार ०८:०१

काठमाडौं । केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र पहिरो जाँदा देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ।

कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ। वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। इलामको मेची राजमार्ग भने पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। त्यहाँ वैकल्पिक बाटोबाट यातायात सञ्चालनको व्यवस्था गरिएको छ।

Advertisement

बागमती प्रदेशमा सबैभन्दा धेरै सडक प्रभावित भएका छन्। बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने अवस्था हेरेर यातायात सञ्चालन भइरहेको छ। कान्ति लोकपथमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

भोटेकोशी गाउँपालिकाको कोदारी र लिपिङमा पहिरो गएपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक, नुवाकोटको मध्यपहाडी लोकमार्ग र टोखा–छहरे सडक तथा धादिङको दामन पाख्रिन सडकखण्ड पनि पहिरोका कारण बन्द छन्।

गण्डकी प्रदेशका बागलुङको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। यस्तै, रोल्पाको सहिदमार्ग र रुकुम पश्चिमको जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्। पाल्पाको सिद्धार्थ राजमार्गमा भने पहिरो पन्छाएपछि यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×