करविरुद्ध देशव्यापी अभियान चलाउने कुलमानको घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार ११:५१

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारणलाई प्रत्यक्ष असर पर्ने गरी सरकारले लगाएको करको विरोधमा देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

मन्थलीमा आइतबार आयोजित हस्ताक्षर संकलन अभियान तथा पत्रकार भेटघाट कार्यक्रममा घिसिङले सरकारको कर नीतिविरुद्ध स्थानीय तहसम्म पुगेर जनमत जुटाउने बताएका हुन् । उनका अनुसार भदौ १ गतेदेखि सुरु भएको हस्ताक्षर संकलन अभियान एक महिनासम्म सञ्चालन गरिनेछ । अभियानबाट संकलित हस्ताक्षर सरकारलाई बुझाएर जनतामाथि थपिएको करको भार हटाउन दबाब दिइने उनले बताए ।

Advertisement

घिसिङले विद्युत तथा राइड सेयरिङमा कर लगाउने सरकारको निर्णयको आलोचना गरे । विद्युतको खपत बढाएर ग्यास र पेट्रोलियम पदार्थको प्रयोग घटाउनुपर्ने समयमा उल्टै कर लगाएर नागरिकलाई विद्युत प्रयोगबाट निरुत्साहित गरिएको उनको भनाइ थियो ।

विद्युत प्राधिकरणले उठाउनुपर्ने बक्यौता रकम असुल गर्न नसक्ने तर त्यसको भार सर्वसाधारणमाथि थोपर्ने नीति उचित नभएको उनले बताए । लोडसेडिङका समयमा उद्योगहरूलाई उपलब्ध गराइएको विद्युतको २३ करोड रुपैयाँभन्दा बढी बक्यौता उठाउनेतर्फ पनि सरकार गम्भीर नभएको घिसिङको आरोप छ ।

उनले विद्युत महसुलमा छुट दिएर खपत बढाउनुपर्नेमा जोड दिए । विद्युतको प्रयोग बढाउँदा ग्यास तथा पेट्रोलियम पदार्थको आयात घट्ने र मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने उनको दाबी छ ।

ट्याक्सी खरिदमा देखिएको मूल्य अन्तरप्रति पनि घिसिङले प्रश्न उठाए । कर तथा अन्य शुल्कका कारण करिब २८ लाख रुपैयाँमा खरिद गर्न सकिने ट्याक्सीका लागि चालकले ५२ लाख रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको उनले बताए ।

सर्वसाधारणले दैनिक उपभोग गर्ने वस्तु तथा सेवामा करको भार बढाउने सरकारको नीति परिवर्तन हुनुपर्ने उनको माग छ । घिसिङले आफूहरूको माग सरकारले सम्बोधन नगरे आन्दोलनको आगामी स्वरूपका बारेमा थप निर्णय गरिने चेतावनीसमेत दिए । जनताको आवाज नसुनेको सरकारलाई दुईतिहाइको सरकार भन्न नमिल्ने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×