
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–९ स्थित बक्राहा गंगा स्वर्गद्वारी आर्यघाटमा छानो निर्माणका लागि समाजसेवी बलबहादुर बस्नेतले १ लाख ३१ हजार रुपैयाँ सहयोग गरेका छन् । वर्षाको समयमा शव दाहसंस्कार गर्न हुने कठिनाइलाई मध्यनजर गर्दै उनले सो रकम प्रदान गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बस्नेतले शोकमा परेका परिवारलाई वर्षा र घामका कारण थप सास्ती नहोस् भन्ने उद्देश्यले व्यक्तिगत सहयोग गरेको बताए । उनले भने, ‘मानवीय सेवा नै धर्म हो, यो संरचनाले दीर्घकालीन रूपमा समुदायलाई सहज बनाउने छ।’
स्वर्गद्वारी समाजसेवा समितिका अध्यक्ष लक्ष्मीप्रसाद चौलागाईंका अनुसार छानो नहुँदा वर्षायाममा अन्तिम संस्कार गर्न निकै सास्ती हुँदै आएको थियो । अब टिनको छानो निर्माण भएपछि स्थानीयलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा संस्थाका पदाधिकारी तथा अन्य समाजसेवीहरूको उपस्थिति रहेको थियो ।



















