विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १९:२८
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेहरूमा झापा र सिन्धुलीका रहेका छन् ।
झापाको कमल गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने २९ वर्षीया सुष्मा भण्डारीले चेक रिपब्लिक पठाइदिने भन्दै ५ लाख ३५ हजार रुपैयाँ, झापाकै दमक नगरपालिका–३ घर भई काठमाडौं बस्ने साजन खनालले फिनल्यान्ड पठाउने प्रलोभन देखाई १२ लाख रुपैयाँ र सिन्धुलीको कमलामाई नगरपालिका–३ घर काठमाडौं बस्ने करिना देवकोटाले लिथुआनिया पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले पीडितहरूलाई आकर्षक तलब र सेवा सुविधाको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विदेश लैजाने भन्दै मोटो रकम असुल गरेका थिए । रकम लिएपछि लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई उनीहरू सम्पर्कविहीन बनेका थिए । पीडितहरूले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×