फुङ्लिङ बजारमा खुला ठाउँमा पशुवध र फोहोर फाल्न प्रतिबन्ध 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १९:४९
फुङ्लिङ बजारमा खुला ठाउँमा पशुवध र फोहोर फाल्न प्रतिबन्ध 

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाउन नगरपालिकाले कडा कदम चालेको छ । फुङ्लिङ नगरपालिकाले चालु आर्थिक वर्षको ‘आर्थिक ऐन’ जारी गर्दै खुला ठाउँमा पशुवध गर्न र जथाभाबी फोहोर मैला फाल्न पूर्ण प्रतिबन्ध लगाएको हो ।

नगरपालिकाले बजार क्षेत्रको वातावरणीय स्वच्छता र जनस्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरेको जनाएको छ ।  ऐनको उल्लंघन गर्नेलाई आर्थिक दण्ड र जरिवानाको समेत व्यवस्था गरिएको छ ।

Advertisement

नगरपालिकाको आर्थिक ऐनअनुसार अब खुला ठाउँमा पशुवध गरेमा वा मासु बिक्री वितरण गरेमा पहिलो पटकका लागि ५ सय रुपैयाँ जरिवाना गरिने छ । सोही कार्य दोहोर्‍याएमा दोस्रो पटक १ हजार र तेस्रो पटक २ हजार रुपैयाँ जरिवाना असुल गरिने व्यवस्था छ ।

यस्तै, गुणस्तरहीन मासु बिक्री गरेको पाइएमा नगरपालिकाले मासु जफत गरी नष्ट गर्ने र पहिलो पटक २ हजार रुपैयाँ जरिवाना गर्ने छ । दोस्रो पटक ४ हजार र त्यसपछि पनि अटेर गरेमा प्रत्येक पटक ८ हजार रुपैयाँका दरले जरिवाना तिराउने प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुले जानकारी दिए ।

नगरपालिकाले तोकिएको स्थान वा सवारी साधनबाहेक अन्यत्र जथाभाबी फोहोर फाल्नेलाई पनि कारबाहीको दायरामा ल्याएको छ । जथाभाबी फोहोर फाल्नेलाई पहिलो पटक ५ सय, दोस्रो पटक १ हजार र त्यसपछिका हरेक पटक २ हजार रुपैयाँ जरिवाना गरिनेछ । हाल नगरपालिकाले बजार क्षेत्रको फोहोर घर–घरबाट संकलन गरी ल्याण्डफिल्ड साइटमा व्यवस्थापन गर्दै आएको छ ।

नगरपालिकाले व्यावसायिक मापदण्ड विपरीत व्यवसाय सञ्चालन गर्नेलाई पनि अंकुश लगाएको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत व्यवसाय सञ्चालन गरेको पाइएमा पहिलो पटक सामानको मूल्यको दोब्बर जरिवाना गरिने र पुनः सोही गल्ती दोहोरिएमा व्यवसाय नै बन्द गर्नेसम्मको कडा व्यवस्था ऐनमा छ ।

यसका साथै, अवैध रूपमा ढुंगा, गिटी, बालुवा तथा माटो उत्खनन गर्ने कार्यलाई समेत नगरपालिकाले कडाइका साथ नियन्त्रण गर्ने भएको छ । ऐन विपरीत प्राकृतिक स्रोतको दोहन गरेमा दण्ड जरिवानासहित कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पनेरुका अनुसार, नगरपालिकाले जारी गरेका यी ऐन र नियमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लगिनेछ, जसले गर्दा फुङ्लिङ बजार थप स्वच्छ, सुन्दर र मर्यादित बन्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×