
काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको किनारमा एक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार अन्दाजी ५० वर्षीया महिलाको शव मंगलबार दिउँसो फेला परेको हो ।
स्थानीयले भैँसी चराउने क्रममा खोलाको किनारमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाए लगत्तै पुगेको इलाका प्रहरी कार्यालय गोल बजारको टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।
घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको र हालसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उनको साथबाट पहिचान खुल्ने कुनै पनि कागजात वा प्रमाण फेला परेको छैन ।
महिलाको मृत्युको कारणबारे पनि तत्काल केही खुल्न सकेको छैन । पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र घटनाको वास्तविक कारण बाहिर आउने प्रहरीले जनाएको छ ।
घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको र मृतक महिलाको पहिचानका लागि स्थानीयवासी तथा आसपासका क्षेत्रबाट आवश्यक जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ ।



















