प्रकृतिको अनुपम उपहार: ओझेलमा ओखलढुंगाको ‘तीनछाँगे झरना’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार १४:३०
प्रकृतिको अनुपम उपहार: ओझेलमा ओखलढुंगाको ‘तीनछाँगे झरना’

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ ककनीस्थित ‘तीनछाँगे झरना’ पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको छ । ककनी खोलाको ५०० मिटर दूरीभित्र रहेका तीन वटा ठुला र मनमोहक झरनाहरू अहिले प्रचारप्रसार र पूर्वाधारको पर्खाइमा छन् ।

ककनी खोला कपल्टी भिरमा पुगेपछि तीन तहका झरनामा परिणत हुन्छ । पहिलो झरना गाउँबाट १० मिनेटको दूरीमा छ भने दोस्रो झरना सबैभन्दा अग्लो र आकर्षक छ । तेस्रो झरना खोचभित्र रहेकाले निकै सुन्दर भए पनि त्यहाँ पुग्ने सहज बाटो छैन । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यी झरनाहरू भौगोलिक विकटताका कारण ओझेलमा परेका हुन् ।

Advertisement

यस क्षेत्रको शिरमा प्रसिद्ध ककनी चम्पादेवी मन्दिर रहेकाले यसलाई धार्मिक पर्यटनसँग समेत जोड्न सकिने स्थानीय बताउँछन् । पर्यटकलाई लक्षित गरी ककनी गाउँका तामाङ र सुनुवार समुदायले होमस्टे (घरवास) को सुविधा समेत सुरु गरेका छन् । स्थानीय ढकबहादुर सुनुवारका अनुसार केही संरचना बने पनि सडक र पदमार्गलाई थप व्यवस्थित गर्न सके यहाँ पर्यटकको घुइँचो लाग्ने निश्चित छ ।

सदरमुकाम ओखलढुंगाबाट कटुन्जेको कोष हाट हुँदै जिप वा बाइकमा करिब ३ घण्टामा यो क्षेत्र पुग्न सकिन्छ । पूर्वाधार विकास र उचित प्रवर्द्धन भएमा तीनछाँगे झरनाले स्थानीयको आर्थिक स्तर सुधार्ने बलियो आधार तय गर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×