नापीका सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार १७:०२
अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सुडीसहित उनकी श्रीमती सुमिन्द्रादेवी साहलाई समेत गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

Advertisement

सर्भेक्षक सुडीले २०४६ वैशाख १६ गते सरकारी सेवा (अमिन पद) मा प्रवेश गरेदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिमा उनको वैधानिक आय ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ मात्र देखिएको छ । तर, सोही अवधिमा उनले घरजग्गा, शेयर खरिद, सवारी साधन र अन्य विलासिताका क्षेत्रमा ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको छ ।

कुल आम्दानी र खर्चको तुलना गर्दा ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसा बराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेको अख्तियारको दाबी छ ।

सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी कमाएको उक्त अवैध सम्पत्ति सुडीले श्रीमती सुमिन्द्रादेवी साहको नाममा राखेको पाइएको छ । साथै, उनले सम्पत्ति विवरण बुझाउँदा वास्तविक विवरण लुकाई झुट्टा विवरण पेस गरेको समेत पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारले सुडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना, कैद सजाय र स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरेको छ । झुट्टा विवरण पेस गरेकोमा उनलाई थप सजायको समेत माग दाबी गरिएको छ । श्रीमती सुमिन्द्राको नाममा रहेका अवैध सम्पत्तिहरू समेत प्रचलित कानुनबमोजिम जफत गर्न अख्तियारले अदालतसमक्ष माग गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×