
इटहरी । भन्सार छली गरी ल्याइएका करिब पाँच लाख ९५ हजार रुपैयाँ मूल्य बराबरका अवैध सामान सुनसरीको इटहरीबाट प्रहरीले बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले मंगलबार बिहान ११ बजेतिर इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकबाट सामान बरामद गरेको हो । प्रहरीका अनुसार बरामद सामानमा खुला सुर्ती १५० किलोग्राम, ‘जेनुइन ब्याक ब्याग’ लेखिएका झोला ५० थान र ‘डफलेट्यानिन क्यारिङ ब्याग’ लेखिएका झोला ३० थान रहेका छन् ।
बरामद गरिएका सामानको अनुमानित मूल्य पाँच लाख ९५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । भन्सार छली गरी ल्याइएका सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ ।



















