उद्धार कार्यलाई तीव्रता दिन आयल निगमले पठायो ‘रिफ्युलर’ गाडी 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १५:१२

काठमाडौं । बाढी र पहिरोका कारण प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘रिफ्युलर’ गाडी पठाएको छ । उद्धार मा खटिएका हेलिकप्टरहरूलाई सहज रूपमा हवाई इन्धन उपलब्ध गराउन १६ हजार लिटर क्षमताको  ‘रिफ्युलर’ गाडी नुवाकोट पठाएको हो ।

सामान्यतया विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्रमा मात्र प्रयोग गरिने यस्तो रिफ्युलर गाडी आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै पहिलो पटक विमानस्थल बाहिर पठाइएको छ । हवाई इन्धन डिपोका प्रमुख प्रदीप यादवले नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा यो निर्णय लिइएको जानकारी दिए ।

Advertisement

‘उद्धारमा संलग्न नेपाली सेना तथा निजी कम्पनीका हेलिकप्टरहरू इन्धन भर्न पटक पटक काठमाडौं फर्किनुपर्ने बाध्यता थियो, यादवले भने, ‘अब नुवाकोटमै इन्धन उपलब्ध भएपछि उद्धार र राहत कार्य अझ छिटो, प्रभावकारी र निरन्तर सञ्चालन गर्न सहज हुनेछ।’

यो गाडीलाई नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा राखिने योजना छ । यदि भौगोलिक वा प्राविधिक कारणले नुवाकोट पुग्न नसकेमा यसलाई धादिङको गजुरी ब्यारेकमा राखेर इन्धन वितरण गरिने निगमले जनाएको छ ।
विशेष परिस्थितिलाई मध्यनजर गर्दै यो अप्रेसनको सुरक्षा र निगरानीका लागि नेपाली सेनाका दुई प्रतिनिधि र नेपाल आयल निगमका तीन प्रतिनिधि सहितको टोली गाडीसँगै खटाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×