एनआरएनएले दिने भयो बाढीपीडितका लागि ५ करोड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १९:३६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।

बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै एनआरएनएले प्रभावितको जीवनरक्षा, उद्धार र राहतलाई प्राथमिकतामा राख्न सरकार, स्थानीय तह तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ । संघले आकस्मिक बैठकमार्फत राहत तथा उद्धार कार्यक्रम अघि बढाउने निर्णय गरेको महासचिव डा. चिरञ्जीवी खड्काले जानकारी दिए ।

Advertisement

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा राहत तथा उद्धार मूल समिति गठन गरिएको छ । आर्थिक सहयोग संकलनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा समिति बनाइएको छ भने स्वयंसेवक परिचालनको जिम्मेवारी उपाध्यक्ष मनोज गोर्खालीलाई दिइएको छ ।

त्यस्तै, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) परिचालनका लागि महासचिव खड्काको संयोजकत्वमा समिति गठन गरिएको छ । विपद् व्यवस्थापन समिति तथा सम्बन्धित निकायसँग समन्वय गर्ने जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलाई दिइएको छ ।

एनआरएनएले मेडिकल तथा स्वयंसेवक टोली तत्काल प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ । विभिन्न देशमा रहेका एनसीसीलाई पनि आर्थिक सहयोग जुटाउन निर्देशन दिइएको छ ।

सहयोग संकलनका लागि डेबिट कार्ड, पेपाल, डिजिटल वालेट तथा बैंकिङ माध्यम प्रयोग गर्ने व्यवस्था मिलाइने संघले जनाएको छ । साथै, बाढीबाट प्रभावित एनआरएनए सदस्य तथा उनीहरूका परिवारको विवरण संकलन गरी आवश्यक उद्धार र राहतमा सरकारी संयन्त्रसँग समन्वय गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×