बाढीपहिरोको जोखिमले देशभरका प्रमुख सडक प्रभावित

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार ०९:२५

काठमाडौं । अविरल वर्षा तथा बाढीपहिरोको उच्च जोखिमका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य सडक खण्डसहित देशभरका प्रमुख राजमार्ग प्रभावित भएका छन्।

प्रहरी प्रधान कार्यालय तथा ट्राफिक प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार विभिन्न सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। काठमाडौंलाई तराई तथा पश्चिम नेपालसँग जोड्ने प्रमुख मार्ग नागढुङ्गा–मुग्लिङ सडक खण्डमा बाढीको उच्च जोखिम रहेकाले नागढुङ्गादेखि मुग्लिङसम्म दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।

Advertisement

यस्तै, बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा समेत सवारी सञ्चालनमा रोक लगाइएको छ। खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा अर्को सूचना जारी नभएसम्म सवारी चलाउन रोक लगाइएको हो। मौसम तथा सडकको अवस्था अनुकूल भएमा मात्र उक्त सडकमा सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।

हेटौँडा–ठिङ्गन–बागमती हुँदै ललितपुर जोड्ने कान्तिलोकपथमा पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातको समयमा सवारी सञ्चालन गर्न निषेध गरिएको छ। टोखा–छहरे सडक खण्डमा समेत जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। शिवपुरी गाउँपालिका–८ घट्टेखोला क्षेत्रमा जोखिम रहेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ।

रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक खण्ड लामो समयसम्म अवरुद्ध रहने जनाइएको छ। जिल्लाका अन्य मुख्य सडकमा समेत यातायात प्रभावित भएको छ।नुवाकोटका मुख्य राजमार्गमा पनि विभिन्न स्थानमा अवरोध कायमै रहेको प्रहरीले जनाएको छ।

यस्तै, इलाम नगरपालिका–९ राजदुवालीस्थित झापा–ताप्लेजुङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक खण्डमा यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। बाढीपहिरोको जोखिम अझै कायमै रहेकाले प्रहरीले अत्यावश्यक कामबाहेक लामो दूरी तथा रातको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोलसँग आवश्यक जानकारी लिएर मात्र यात्रा तय गर्नसमेत अपिल गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×