भोटेकोशी बाढीपछि सम्पर्कविहीन इलामेलीको विवरण संकलन गर्दै प्रशासन

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार १५:०८
भोटेकोशी बाढीपछि सम्पर्कविहीन इलामेलीको विवरण संकलन गर्दै प्रशासन

इलाम । रसुवा, नुवाकोटलगायत जिल्लामा गएका तथा भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका इलामका नागरिकको विवरण संकलन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले अत्यन्त जरुरी सूचना जारी गर्दै परिवार तथा आफन्तको सम्पर्कमा नआएका र जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिको खोज तथा उद्धारका लागि तत्काल विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रशासनका अनुसार इलामबाट विभिन्न कामका सिलसिलामा रसुवा, नुवाकोटलगायत जिल्लामा गएका व्यक्तिहरू भदौ १० गते आएको बाढीबाट प्रभावित भएर सम्पर्कविहीन भएको हुन सक्ने देखिएको छ । कतिपय स्थानीयले आफ्ना परिवारका सदस्य तीर्थयात्रा र घुमफिरका लागि बाढी आउनुअघि त्यस क्षेत्रतर्फ गएको र सम्पर्क हुन नसकिरहेको बताएका छन् । यसैगरी बाढी प्रभावित जिल्लाका जलविद्युत् आयोजनामा कार्यरत कतिपयका आफन्त सम्पर्कमा आउन नसकेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

Advertisement

सम्पर्कविहीन व्यक्तिका परिवार, आफन्त वा चिनजानका व्यक्तिले नजिकको प्रहरी चौकी, सुरक्षा निकाय, स्थानीय तह वा विपद् फोकल पर्सनलाई जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ ।

त्यस्तै, जिल्ला आपत्कालीन उद्धार केन्द्र इलाममा समेत सम्पर्क गरी बेपत्ता वा सम्पर्कविहीन व्यक्तिको विवरण टिपाउन सकिने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनामा उल्लेख छ । सम्पर्कविहीन वा बेपत्ता व्यक्तिको विवरण उपलब्ध गराउन प्रशासनले यी नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ–

सहायक प्रमुख जिल्ला अधिकारी– ९८५२६८५१९९

जिल्ला आपतकालीन उद्धार केन्द्र, टोल फ्री– १२३४

मोबाइल– ९८५२६३३३९९

प्रशासनले बाढी तथा विपद्का कारण जोखिममा परेका व्यक्तिको खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×