
काठमाडौं । तिब्बती क्षेत्रमा रहेको एक ताल पुनः फुटेपछि नेपाल प्रहरीले त्रिशूली र भोटेकोशी नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रहरीले एक विशेष सूचना जारी गर्दै उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सर्वसाधारण सबैलाई तत्काल सुरक्षित र सतर्क रहन भनेको हो । ताल फुटेका कारण नदीमा पानीको बहाव एक्कासि बढ्न सक्ने भन्दै सुरक्षा सतर्कता बढाइएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट ताल फुटेको औपचारिक जानकारी प्राप्त भएको पुष्टि गरेका छन् । उनले भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । हामीले नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन सर्कुलर गरिसकेका छौँ ।’
चिनियाँ क्षेत्रमा पर्ने छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमस्थल नजिकै बनेको ठुलो ताल फुटेको बताइएको छ । यी दुवै खोलाहरू त्रिशूली नदीका माथिल्ला सहायक नदीका रूपमा रहेका छन् । बाढीको जोखिम बढेसँगै रसुवा, नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न प्रशासनले आग्रह गरेको छ ।



















