
काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन् ।
मलेसियामा एसीसी प्रिमियर कप खेलिरहेका सन्दीपले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक १ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत सन्दीपले आफूहरू प्रतियोगिताका लागि देशबाहिर रहे पनि मन भने नेपालमै रहेको उल्लेख गर्दै बाढी प्रभावितप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् ।
उनले एसीसी प्रिमियर कपमा नेपालको प्रदर्शन बाढी प्रभावित नागरिकप्रति समर्पित गर्ने बताएका छन् । साथै, प्रतियोगिताभरि नेपालले लिने हरेक विकेटबापत १ हजार ५०० रुपैयाँ तथा हरेक चौका र छक्काबापत १ हजार ५०० रुपैयाँ बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘उनीहरूको सपना कुनै बाढीले बगाउन सक्दैन,’ सन्दीपले भनेका छन् । उनले हरेक विकेट, हरेक बाउन्ड्री र हरेक हुटिङ नेपालकै लागि हुने उल्लेख गरेका छन् । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ ।



















