
विराटनगर । मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार विभिन्न स्थानमा गरेको छुट्टाछुट्टै कारबाहीमा उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कको टोलीले इनरुवा नगरपालिका–४ बसचोकबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१० का जयराम चौधरी र स्कुटरको पछाडि सवार अनुराग चौधरी छन् । उनीहरूको साथबाट ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३८ वर्षीय खिलाराज राई र वडा नम्बर ९ का ३४ वर्षीय विनोद लिम्बूलाई ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । सुनसरीको दुहबी नगरपालिका–८ का २६ वर्षीय सन्दीप कार्की र २७ वर्षीय अनिष कार्कीलाई क्रमशः १ ग्राम ४६० मिलिग्राम र १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ ।
कोठाबाट ३४० मिलिग्राम ब्राउन सुगर, १०० ग्राम गाँजा र १० हजार ६४० रुपैयाँ नगद बरामद भएपछि धरान उपमहानगरपालिका–५ का २१ वर्षीय राजेश राईलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, झापाको बिर्तामोड नगरपालिका–३ बाट बिर्तामोड–२ का ३४ वर्षीय सरोज भट्टराईलाई ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।



















