
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम प्रभावित क्षेत्रमा तत्काल पठाउन निर्देशन दिएका छन् ।
राहतका लागि सर्वसाधारणले विश्वासका साथ रकम जम्मा गरेको भन्दै अर्थमन्त्री वाग्लेले उक्त रकम सम्बन्धित क्षेत्रमा समयमै पुग्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् । सोमबार आयोजित छलफलमा उनले राहत वितरणका लागि आवश्यक कानुनी व्यवस्था, कार्यविधि र संयन्त्र हुँदाहुँदै पनि विभिन्न निकायबीचको प्रशासनिक प्रक्रियाका कारण रकम निकासा गर्न ढिलाइ भइरहेको बताए ।
उनले प्रभावित क्षेत्रका स्थानीय तहलाई रकम उपलब्ध गराउँदा आवश्यक औपचारिकता पूरा गर्ने कामसँगै रकम पठाउने प्रक्रिया पनि अघि बढाउनुपर्ने बताए । ‘प्रभावित क्षेत्रका पालिकालाई रकम दिने कुरामा यो निकायबाट त्यो निकाय गर्दै धेरै प्रशासनिकीकरण हुँदा ढिलाइ भएको छ,’ उनले भने, ‘हामीसँग कार्यविधि छ, संयन्त्र छ । कानुनले नमिल्ने काम गर्न मिलेन, तर मिल्ने कुरामा छिटो गरौं ।’
स्थानीय तहबाट मेयर तथा प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक औपचारिकता पूरा गर्ने काम जारी राख्दै राहत रकम भने तत्काल पठाउनुपर्नेमा उनले जोड दिए । राहत कोषमा पैसा जम्मा भए पनि प्रभावित क्षेत्रमा पुग्न नसकेको जनधारणा बन्न थालेको भन्दै अर्थमन्त्री वाग्लेले त्यसले सरकारप्रति नकारात्मक सन्देश जाने बताए ।
उनका अनुसार सरकारले अर्थ मन्त्रालयको संयन्त्रमार्फत रकम पठाउने प्रक्रिया अघि बढाइसकेको छ । तर, प्रधानमन्त्री राहत कोषबाटै प्रभावित क्षेत्रमा रकम पठाउँदा जनताले दिएको रकम सही ठाउँमा प्रयोग भइरहेको स्पष्ट सन्देश जाने उनको भनाइ छ ।
‘सरकारले दुरुपयोग गर्दैन र हाम्रो पैसा सम्बन्धित ठाउँमा जान्छ भनेर पैसा ओइरिएको छ,’ उनले भने, ‘त्यसैले यसमा ढिलाइ नगरौं ।’ अर्थमन्त्री वाग्लेले राहत रकम निकासाको प्रक्रिया तत्काल अघि बढाउन मुख्य सचिवलाई निर्देशनसमेत दिएका छन् ।



















