
काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला नदीमा पहिरोले बनाएको ताल आसपासका हिमनदी अझै खस्ने जोखिममा रहेको जनाएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभी न्युजका अनुसार हिमनदी खसेमा ठूलो जोखिम निम्तिन सक्ने भएकाले चीनको जलस्रोत मन्त्रालयले घटनाको निरन्तर निगरानी तथा जोखिम मूल्याङ्कन गरिरहेको छ ।
दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा भएको गेग्रान बग्ने घटनासँग सम्बन्धित जोखिमबारे मन्त्रालयले निरन्तर परामर्श र चरणबद्ध मूल्याङ्कन गरिरहेको जनाएको छ । हालै गरिएको रिमोट सेन्सिङ तस्बिरको तुलनात्मक विश्लेषणअनुसार केरुङ त्साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको जल सतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन । ती हिमताल समग्रमा स्थिर अवस्थामा रहेको जनाइएको छ ।
आज (मंगलबार) बिहान ८ बजे ड्रोनबाट खिचिएको तस्बिरअनुसार नेपालतर्फ छोचेन खोलामा पहिरोले बनाएको तालमा जम्मा भएको अधिकांश पानी बगिसकेको छ । तालभन्दा तलतर्फ नदीको बहावसमेत सामान्य अवस्थामा रहेको सीसीटीभीले जनाएको छ । तर, ताल आसपासका हिमनदी खस्ने जोखिम अझै रहेकाले थप विपद्को सम्भावना कायम रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।

























