
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका कारण निगममाथि थप आर्थिक भार परेको जनाएको छ।
निगम सञ्चालक समितिको निर्णयअनुसार २०८३ भदौ १७ गतेदेखि पेट्रोल, डिजेल तथा मट्टितेलको हाल कायम खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिइएको हो। उपभोक्तामाथि थप मूल्यभार नपरोस् भन्ने उद्देश्यले मूल्य नबढाइएको निगमले जनाएको छ।
निगमका अनुसार हालको बिक्री मूल्यमा पेट्रोल तथा डिजेल/मट्टितेल बिक्री गर्दा घाटा भइरहेको छ। नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब २४ करोड ३७ लाख रुपैयाँ घाटा हुने अनुमान छ।
यसैगरी, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा खरिद लागतको प्रभाव हवाई इन्धन र एलपी ग्यासमा समेत परेको निगमले जनाएको छ।

























