
काठमाडौं । बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त रकम ९ वटा वाणिज्य बैंकमा खोलिएका खातामा जम्मा भएको हो।
कोषमा जम्मा भएको रकममध्ये १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि निकासा भइसकेको छ। त्यसपछि कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ।
यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा ६१ लाख ११ हजार १४८ अमेरिकी डलर सहयोग रकम जम्मा भएको छ। विभिन्न देश तथा संघसंस्थाले थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वदेश तथा विदेशबाट प्राप्त सहयोगको विवरण ‘उद्धार अनुरोध पोर्टल’मार्फत सार्वजनिक गर्दै आएको जनाएको छ। कार्यालयका अनुसार राहत कोषमा सहयोग आउने क्रम जारी छ।



















