
काठमाडौं । भारतले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पठाएको राहत सामग्रीको पाँचौँ खेप काठमाडौं आइपुगेको छ। राहत सामग्रीसँगै सुरुङभित्र फसेकाको खोज तथा उद्धारमा सहयोग गर्न ११ सदस्यीय दक्ष उद्धार टोली पनि नेपाल आएको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार उद्धार टोली आवश्यक उपकरण तथा औषधिसहित नेपाल आइपुगेको हो। जलविद्युत् आयोजनाका सुरुङमा बाढीपहिरोका कारण सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार चुनौतीपूर्ण भइरहेका बेला भारतले विशेष दक्षता भएको टोली पठाएको हो।
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुगेको छ भने केही आयोजनाका सुरुङमा मानिस फसेको आशंकापछि नेपाली सुरक्षाकर्मी र विदेशी विशेषज्ञ टोलीले खोज तथा उद्धार गरिरहेका छन्।
भारतले यसअघि पनि नेपाललाई राहत सामग्री तथा उद्धारमा सहयोग गर्दै आएको छ। पछिल्लो खेपमा आएको सामग्री र सुरुङ उद्धारमा दक्ष टोलीले जारी उद्धार प्रयासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

























