बाढी-पहिरोले मुख्य राजमार्ग प्रभावित, विभिन्न ठाउँमा आवागमन अवरुद्ध

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार ०७:३८

काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सडकमा सवारी आवागमन प्रभावित भएको छ।

नेपाल प्रहरीले आज (बिहीबार) बिहान ६:३५ बजे सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ–धादिङ जोड्ने सडकअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ चिसोपानीमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ।

Advertisement

बीपी राजमार्गको काभ्रे खण्डमा बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा १० टनसम्मका मालवाहक सवारीलाई मात्र सञ्चालन गर्न दिइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।

रसुवा जाने त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकको उत्तरगया–५ खाल्टेमा बाढीले सडक पूर्ण रूपमा अवरुद्ध पारेको छ। उक्त सडक लामो समयसम्म अवरुद्ध हुनसक्ने प्रहरीले जनाएको छ। नुवाकोटको टोखा–छहरे र पासाङ ल्हामु राजमार्गमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। परेवा भीरमा साना सवारीसाधन एकतर्फी सञ्चालनमा छन् भने जवाखोला र कमेरेभीरमा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालन भइरहेको छ। प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×