
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालका बाढीपहिरो प्रभावितका लागि १ करोड अमेरिकी डलर सहयोग गरेका छन् ।
हुआङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम उपलब्ध गराएका हुन् । रसुवाको भोटेकोशी जलाधार क्षेत्रसहित बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि उक्त रकम प्रयोग गरिने जनाइएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भिडियो सन्देशमार्फत हुआङको सहयोगका बारेमा जानकारी दिँदै नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरेका छन् । उनले एनभिडियाका सीईओ हुआङको सहयोगले अन्य व्यक्ति तथा संस्थालाई पनि विपद्का बेला सहयोग गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
सरकारका अनुसार यो सहयोग बाढीपहिरो प्रभावितका लागि कुनै बहुराष्ट्रिय कम्पनी वा व्यक्तिबाट प्राप्त भएका ठूला सहयोगमध्ये एक हो । एनभिडियाबाट प्राप्त सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको अर्थमन्त्री वाग्लेले बताएका छन् ।
कोषमा जम्मा भएको रकमबाट रसुवा, नुवाकोट, धादिङलगायत बाढीपहिरो प्रभावित जिल्लामा तत्काल राहत वितरण, विस्थापितको पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा खर्च गरिने सरकारको भनाइ छ ।

























