
काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवास्थित भोटेकोशी नदीमा पुगेको क्षति र प्रभावितहरूको उद्धारका लागि छिमेकी मुलुक भारतले थप सहायता सामग्री उपलब्ध गराएको छ । भारतीय वायुसेनाका दुई वटा विशेष विमानमार्फत २१।५ टन मानवीय सहायता सामग्री बिहीबार राती काठमाडौँ आइपुगेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूतले उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन् । प्राप्त सामग्रीहरूमा मुख्यतया औषधि, मेडिकल उपकरण तथा उद्धार कार्यका लागि आवश्यक अन्य प्राविधिक उपकरणहरू रहेको छ ।
बाढी र पहिरोका कारण विस्थापित भएका र जोखिममा रहेका नागरिकहरूको व्यवस्थापनका लागि प्राप्त यी सामग्रीहरूलाई अविलम्ब प्रभावित क्षेत्रमा पठाइने सरकारले जनाएको छ ।
नेपालमा आइपरेको यो प्राकृतिक विपत्तिका समयमा भारतले हालसम्म सात वटा उडानमार्फत राहत सामग्री र विशेषज्ञसहितको उद्धार टोली पठाइसकेको छ । रसुवाको भोटेकोशी क्षेत्रमा बाढीले ठुलो धनजनको क्षति पुर्याएपछि खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिन यो सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

























