संखुवासभामा गोली हानेर शिक्षकको हत्या

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार ११:०३

विराटनगर । संखुवासभामा गोली हानेर एक जना शिक्षकको हत्या गरिएको छ । घटना मकालु गाउँपालिका–१ चिर्खाङमा भएको हो ।

संखुवासभा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर धनबहादुर राजवंशीले कालिका आधारभूत विद्यालयका शिक्षक अन्दाजी ३५ वर्षीय नरकुवीर खम्बु राईको हत्या भएको जानकारी दिए । संखुवासभाको सिलिचोङ गाउँपालिका–५ याफु घर भएका शिक्षक राई सोही विद्यालयमा बस्दै आएका थिए ।

Advertisement

खान खाएर भाँडा सफा गर्न विद्यालय बाहिर निस्किएका बेला राईमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको इन्स्पेक्टर राजवंशीले बताए । उनका अनुसार अचानक बन्दुक पड्किएजस्तो आवाज आएपछि सोही विद्यालयमा बस्दै आएकी शिक्षिका टीकामाया राईले बाहिर निस्किएर हेर्दा रगताम्य अवस्थामा शिक्षक नरकुवेर राई ढलिरहेको देखेर बिहीबार राति ९ बजेतिर प्रहरीलाई खबर गरेकी थिइन् ।

गोली लागेर शिक्षक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खाँदबारीबाट इन्स्पेक्टर मेघराज अर्याल नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

घटनास्थल पुगेको प्रहरी टोलीले घटनामा संलग्नको खोजी सुरु गरेर घटनास्थल मुचुल्का उठाउने काम गरिरहेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइने प्रहरीले जनाएको छ ।

शिक्षक राईलाई गोली कसले र किन हानेको भन्ने बारेमा खुल्न बाँकी रहेको इन्स्पेक्टर राजवंशीले बताए । घटनास्थल पुगेको प्रहरी टोलीका अनुसार शरीरको पछाडिको भागमा भरुवा बन्दुकले लागेजस्तो चोट देखिएको छ ।

उनका अनुसार घटनास्थल मकालुकै हेदाङ्नाबाट २५ किलोमिटर पैदल दक्षिण–पश्चिममा पर्छ । घटनामा संलग्नको पहिचान र खोजी तीव्र पारेर विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×