
विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित मोरङ जिल्ला कारागारभित्र लामो समयदेखि झाँगिएको गुटबन्दी एकाएक विस्फोट भएको छ ।
कारागारभित्रको अत्याचार सहन नसकेपछि कैदीबन्दीका दुई समूहबीच शुक्रबार कुटाकुट भएको हो । गुटबन्दी कुटाकुटमा परिणत भएपछि १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’ कब्जा गरेर बसेका र त्यसको विरोध गर्ने कैदीबन्दीबीच कुटाकुट भएपछि तनावग्रस्त बनेको कारागारमा सुरक्षाकर्मी परिचालन गरी चौकीदार विशाल निरौलासहित १९ जनालाई बाहिर निकालिएको हो ।
शुक्रबार अपराह्न ‘बी ब्लक’मा कैदीबन्दीबीच कुटाकुट हुन थालेपछि तत्काल सुरक्षा सतर्कता बढाइएको थियो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफ्नै नेतृत्वमा टोली लिएर कारागार पुगेका थिए । एसपी कटवाल नेतृत्वको टोलीले होहल्ला तथा अराजक गतिविधिमा संलग्न कैदीबन्दीलाई बाहिर निकालेर जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरमा लगेको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार चौकीदारसहित बाहिर निकालिका १९ जनामध्ये ६ जनालाई वडा प्रहरी कार्यालय र १३ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनका अनुसार पछिल्लो समय कारागारभित्र आतंक मच्चाउने तथा अराजक गतिविधि गर्ने केही कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको थियो ।
तर, स्थानान्तरणको सूचना पाएपछि केही कैदीबन्दीले कारागारको ‘बी ब्लक’ कब्जा गरेर प्रशासनलाई भित्र प्रवेश गर्न रोक लगाए । उनीहरूले ब्लकको ढोकामा भित्रबाटै ताला लगाएर प्रशासनलाई अवरोध गरेका थिए ।
तर, ‘बी ब्लक’ कब्जा गरेर बसेको समूह र त्यसको विरोध गर्ने कैदीबन्दीबीच विवाद बढ्दै गएपछि शुक्रबार अवस्था तनावपूर्ण बनेको हो । स्रोतका अनुसार कारागार कब्जा गरेर बसेका कैदीबन्दीलाई अन्य कैदीबन्दीले एक–एक गर्दै कुटपिट गरी बाहिर निकालेका थिए । त्यसक्रममा उनीहरूलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको थियो । कुटाकुटका क्रममा एक जना कैदी सामान्य घाइते भए पनि गम्भीर चोटपटक भने कसैलाई नलागेको बताइएको छ ।
स्रोतका अनुसार कारागारको ‘बी ब्लक’ कब्जा गर्ने समूहमा रहेकाहरु आपराधिक पृष्ठभूमिका अभिषेक गिरीका समर्थक हुन् । गिरीको इसारामा चौकीदारसहित केही कैदीबन्दीले ब्लक कब्जा गरेको स्रोतको दाबी छ । कैदीबन्दीले पाउने सरकारी भत्ता तथा आम्दानीबापतको रकम कब्जा गर्ने गरेको आरोपमा प्रहरीले गिरीमाथि अनुसन्धान गरिरहेको छ । सोही आरोपमा पक्राउ परेका गिरी अदालतको आदेशपछि छुटिसकेका छन् । उनीमाथिको अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।
कारागार स्रोतका अनुसार गिरी पक्षका कैदीबन्दीले आफूहरूमाथि यातना दिने, रकम असुल्ने तथा कारागारभित्र आतंक सिर्जना गर्ने गरेको भन्दै अन्य कैदीबन्दी लामो समयदेखि असन्तुष्ट थिए । शुक्रबार उनीहरूले मौका पाएपछि गिरी पक्षका कैदीबन्दीलाई कुटपिट गर्दै बाहिर निकालेर सुरक्षाकर्मीको जिम्मा लगाएको कारागार स्रोतको भनाइ छ ।
बाहिर निकालिएका १९ कैदीबन्दीमध्ये जबरजस्ती करणी मुद्दाका सात जना छन् । चौकीदार झापाको अर्जुनधारा नगरपालिका–४ का २४ वर्षीय विशाल निरौलासहित मोरङ ग्रामथान गाउँपालिका–४ का २८ वर्षीय प्रेम कटवाल, विराटनगर महानगरपालिका–८ का २४ वर्षीय मनिषकुमार विक, ३३ वर्षीय मोहमद सदाम, कटहरी गाउँपालिका–३ का ३१ वर्षीय रविन कामत, ३३ वर्षीय राजेश कामत, सुनसरी हरिनगरा गाउँपालिका–४ का २२ वर्षीय अजय मेहतालाई बाहिर निकालिएको हो ।
बाहिर निकालिएकामध्ये विराटनगर–६ का ३० वर्षीय कुनाल सिंह, मोरङको उर्लाबारी नगरपालिका–४ का ३० वर्षीय प्रशान्त भण्डारी, पथरीशनिश्चरे नगरपालिका–१ का २७ वर्षीय अनिल भट्टराई र झापाको दमक नगरपालिका–४ का २३ वर्षीय रामकुमार श्रेष्ठ लागुऔषध मुद्दाका कैदीबन्दी हुन् । धनकुटाको धनकुटा नगरपालिका–५ का ४८ वर्षीय धर्मेन्द्र राई र मोरङ कटहरी गाउँपालिका–३ का कार्तिक कामत ज्यान मार्ने उद्योग मुद्दाका कैदीबन्दी हुन् ।
भारतको पश्चिम बंगालका ३८ वर्षीय चञ्चल बर्मन र भारत उत्तर दिवाद राहगौजका २९ वर्षीय तापत पासवान मानव बेचबिखन तथा विराटनगर–६ का २६ वर्षीय अरवाज शेख र मोरङको बूढीगंगा गाउँपालिका–७ का ३९ वर्षीय रामकुमार चौधरी कर्तव्य ज्यान एवं सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का ३८ वर्षीय नजामुदिन मियाँ डाँका मुद्दाका हुन् ।
कारागार प्रशासनले बाहिर निकालिएका १९ जनालाई पुनः मोरङ कारागारमै राख्दा सुरक्षा चुनौती उत्पन्न हुन सक्ने भन्दै उनीहरूलाई विभिन्न सातवटा कारागारमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । मोरङ कारागारका प्रशासक राजन घिमिरेका अनुसार उनीहरूलाई झापा, झुम्का, उदयपुर, सिन्धुली, सप्तरी, सिराहा र पर्साका कारागारमा पठाउने तयारी भइरहेको हो ।
सबै कैदीबन्दीलाई एउटै कारागारमा राख्दा पुनः समूह बनाएर गुटबन्दी गर्ने र विवाद दोहोरिन सक्ने भएकाले उनीहरूलाई अलग–अलग कारागारमा पठाउन लागिएको प्रजिअ कटेलको भनाइ छ । कैदीबन्दीलाई यातना दिने, आतंक मच्चाउने तथा असुली धन्दा चलाउने १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएपछि मोरङ कारागारको अवस्था सामान्य र शान्त बनेको प्रशासनको भनाइ छ । कारागारभित्र लामो समयदेखि रहेको भनिएको गुटबन्दी र विवाद शुक्रबार कुटाकुटसम्म पुगेपछि प्रशासनले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको प्रजिअ कटेलले बताए ।
स्रोतका अनुसार कारागारभित्र भइरहेको भनिएको अत्याचार, यातना र रकम असुलीप्रति असन्तुष्ट रहेका अन्य कैदीबन्दीले लामो समयदेखि प्रतिकारको अवसर खोजिरहेका थिए । शुक्रबार विवाद चर्किएसँगै उनीहरूले ‘बी ब्लक’ कब्जा गर्ने समूहलाई बाहिर निकालेर सुरक्षाकर्मीको जिम्मा लगाएपछि कारागारको तनाव तत्कालका लागि मत्थर भएको हो ।
























