
विराटनगर । विराटनगरको महेन्द्र चोकमा विद्यालय पोसाकमा रहेका छात्राहरूलाई अभद्र व्यवहार गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय महेशकुमार मण्डल र बाराको परवानीपुर गाउँपालिका–१ घर भई हाल विराटनगर बस्ने ३३ वर्षीय अखिलेशकुमार प्रसाद रहेका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको आधारमा उनीहरूलाई पहिचान गरी नियन्त्रणमा लिइएको हो ।
भदौ १९ गते महेन्द्र चोकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार उनीहरूले बाटोमा हिँडिरहेका विद्यालय पोसाकका दुई छात्रालाई लक्षित गरी अभद्र व्यवहार गरेका थिए । सोही दृश्य समेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले खोजतलास तीव्र पारेको थियो ।
प्रहरीले दुवै जनालाई विराटनगरबाटै नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध ‘अभद्र व्यवहार’ मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























