
झापा । बिर्तामोडमा अर्धकट्टी देखाउँदै सर्वसाधारणबाट आर्थिक संकलन गरिरहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ का २५ वर्षीय राजन बर्देवा रहेका छन् । उनलाई शुक्रबार दिउँसो बिर्तामोड नगरपालिका–९ स्थित धौलापुलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘मान्छे भोकै नमरुन्’ लेखिएको अर्धकट्टी बोकेर सर्वसाधारणसँग रकम संकलन गरिरहेको अवस्थामा बर्देवालाई फेला पारिएको प्रहरीले जनाएको छ । चन्दा संकलन भइरहेको सूचना पाएपछि अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको असई राजकुमार श्रेष्ठ नेतृत्वको टोलीले बर्देवालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको हो ।
प्रहरीले बर्देवा कुन उद्देश्यका लागि आर्थिक संकलनमा संलग्न थिए, कसबाट कति रकम संकलन गरिएको थियो र संकलित रकमको अवस्था के छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

























