भोटेकोशी बाढीले खानेपानी संरचना तहसनहस, पुनःस्थापनामा जुट्यो सरकार

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार ०७:१५

काठमाडौं । भदौ १० गते आएको भोटेकोशी नदीको बाढीले चार जिल्लाको खानेपानी प्रणालीमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका गरी ५५ वटा खानेपानी आयोजना तहसनहस भएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागले गरेको प्रारम्भिक मूल्यांकन अनुसार बाढीबाट क्षतिग्रस्त खानेपानी आयोजनामा करिब ६४ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । यद्यपि, क्षतिको यकिन विवरण संकलन गर्ने काम अझै जारी रहेकाले यो रकम बढ्न सक्ने विभागले जनाएको छ ।

Advertisement

बाढीको सबैभन्दा ठूलो असर नुवाकोटमा परेको छ । जिल्लाका २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको विभागको प्रारम्भिक विवरण छ । ती आयोजनामा मात्रै करिब चार करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार धादिङका २०, रसुवाका आठ र गोरखाका पाँचवटा खानेपानी आयोजना पनि बाढीबाट प्रभावित भएका छन् । बाढीले खानेपानीका मुहान, पाइपलाइन, पम्पिङ प्रणाली तथा अन्य संरचनामा क्षति पुर्‍याउँदा कतिपय स्थानमा नियमित पानी वितरण अवरुद्ध भएको छ ।

खानेपानीको समस्या तत्काल समाधान गर्न विभागले प्रभावित क्षेत्रमा वैकल्पिक व्यवस्थाबाट सेवा सञ्चालन गर्न थालेको छ । क्षतिग्रस्त संरचनाको मर्मतसँगै अस्थायी स्रोतबाट पानी उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखिएको विभागले जनाएको छ ।

नुवाकोटको विदुर क्षेत्रमा खानेपानी वितरण सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ । उक्त जेनेरेटरबाट दैनिक करिब पाँच लाख लिटर पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

बट्टार क्षेत्रमा भने एक एचपी क्षमताका सातवटा पम्प सञ्चालनमा ल्याएर करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुनः सुरु गरिएको छ । त्यस्तै, काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्यांकर परिचालन गरी विदुर र बट्टार क्षेत्रका विभिन्न बस्तीमा पानी वितरण भइरहेको छ ।

बाढी प्रभावित अन्य क्षेत्रमा पनि सेवा विस्तारको तयारी भइरहेको छ । त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका प्रभावित बस्तीका लागि आवश्यक पम्प, ट्यांकी र पाइपलगायत सामग्री तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।

विभागका अनुसार दुई एचपी र एक एचपी क्षमताका गरी १४ वटा पम्प, एक हजार लिटर क्षमताको हिलटेक ट्यांकी तथा करिब ४१.१ किलोमिटर एचडीपीइ पाइप प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ । आवश्यकताअनुसार यी सामग्री ढुवानी गरी जडान गरेर खानेपानी सेवा विस्तार गरिनेछ ।

बाढीले क्षति पुर्‍याएका संरचनाको पुनःस्थापना र नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको विभागले जनाएको छ । तत्काल पानी उपलब्ध गराउने व्यवस्थासँगै क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणलाई पनि अघि बढाइने विभागको भनाइ छ ।

क्षतिको विस्तृत विवरण प्राप्त भएपछि प्रभावित आयोजनाको आवश्यकता र क्षतिको अवस्थाका आधारमा थप पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ । बाढीबाट प्रभावित बस्तीमा खानेपानीको संकट लम्बिन नदिन तत्कालीन व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनालाई सँगसँगै अघि बढाइएको विभागको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×