
विराटनगर । विराटनगरमा ५९औँ संस्करणको राधाकृष्ण रथयात्रा सम्पन्न हुँदा यसपटक धार्मिक आस्थासँगै सरसफाइलाई पनि प्राथमिकतामा राखिएको छ ।
हजारौँ भक्तजनको सहभागितामा सम्पन्न रथयात्राका क्रममा पानी, सर्वत र प्रसाद वितरणबाट निस्किएका फोहोरलाई तत्काल संकलन गरी व्यवस्थापन गरिएको हो । रथको पछि–पछि सरसफाइ गर्ने टोली परिचालित थियो । सरसफाइ टोलीले प्रभावकारी रुपमा फोहोर संकलन गर्दै सडकलाई सफा बनाएको हो ।
राधाकृष्ण रथयात्रा फोहोर व्यवस्थापन उपसमितिका संयोजक तथा विराटनगर महानगरपालिकाको सरसफाइ शाखा प्रमुख पुनम दाहालका अनुसार रथ अघि बढ्दै जाँदा पछाडिपट्टि परिचालन गरिएको सफाइ टोलीले प्रभावकारी काम गर्दा नतिजा सकारात्मक आएको छ । नेपाल फूलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रालि, विराटनगरको टोलीसँगै स्वयंसेवकहरू पनि सरसफाइमा खटिएका थिए ।
रथयात्राका क्रममा भक्तजनलाई पानी, सर्वत तथा प्रसाद वितरण गर्ने स्थानबाट निस्कने प्लास्टिकका कप, कचौरा, प्लेट, बोतल तथा अन्य फोहोर सडकमा नछोडी बोरामा राख्न आयोजक र सेवाप्रदायकलाई आग्रह गरिएको थियो । रथयात्राको रुटमा सञ्चालन गरिएका पसलहरूलाई पनि आफ्नो व्यवसायबाट निस्कने फोहोर व्यवस्थित गर्न अनुरोध गरिएको थियो ।
विगतका वर्षमा रथयात्रा सकिएपछि सडकका विभिन्न स्थानमा प्लास्टिकका बोतल, गिलास, खाजाका प्याकेटलगायत फोहोरको थुप्रो देखिने गरेको थियो । यसअघिका रथयात्रामा कतिपय सेवाप्रदायकले फोहोर नउठाउँदा महानगरकै टोलीले सडक सफा गर्नुपर्ने अवस्था आउने गरेको थियो ।
यस वर्ष भने रथयात्राको करिब आठ किलोमिटर रुटमा रथसँगै सरसफाइ टोली परिचालन गरेर फोहोर तत्काल संकलन र व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको दाहालले बताए । शनिबार राति करिब ९ बजेतिर सम्पन्न भएको रथयात्रामा नेपालका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती क्षेत्रबाट समेत ठूलो संख्यामा भक्तजन सहभागी भएका थिए । यात्रामा स्वास्थ्य, खानेपानी र सरसफाइको छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो ।
रथयात्रा सकिएपछि सडकमा फोहोरको थुप्रो नदेखिने गरी तत्काल सरसफाइ गर्ने अभ्यासले विराटनगरको ठूलो धार्मिक उत्सवलाई व्यवस्थित र वातावरणमैत्री बनाएको छ । तर, यसको दीर्घकालीन सफलता एवं निरन्तरता भने भक्तजन, प्रसाद तथा पानी वितरण गर्ने संस्था, व्यवसायी, स्वयंसेवक र महानगरपालिका सबैले फोहोर व्यवस्थापनको जिम्मेवारी साझा रूपमा निर्वाह गर्न सक्नेमा निर्भर रहने सरोकारवालाको भनाइ छ ।
नेपाल फूलबारी वेस्ट थ्री आर पोलुसनका प्रमुख व्यवस्थापक उमेश कटुवालका अनुसार राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु भएको करिब २० मिनेटपछि सरसफाइ टोली परिचालन गरिएको थियो । ‘रथयात्राका क्रममा निस्किएको फोहोर राति नै सफा होस् र बिहान उठ्दा कसैले पनि फोहोर देख्न नपरोस् भन्ने उद्देश्यले द्रुत गतिमा सरसफाइ गरिएको हो । रथयात्राको मार्ग र सहायक सडकमा रहेका सबै फोहोर संकलन गरी शनिबार राति ११ः१४ बजेसम्म व्यवस्थापन गरिसकियो,’ उनले भने ।
उनका अनुसार राधाकृष्ण मन्दिरबाट सुरु भएको फोहोर संकलन तथा व्यवस्थापनको काम रथयात्राको रुट हुँदै पुनः मन्दिरमै पुगेर सम्पन्न गरिएको थियो । सरसफाइका लागि फूलबारीबाट १ सय १२ जना परिचालन गरिएको जानकारी प्रमुख व्यवस्थापक कटुवालले दिए ।


























