
काठमाडौं । सामाजिक सञ्जालमार्फत नग्न तस्बिर र भिडियो सार्वजनिक गरिदिने धम्की दिएर लाखौँ रुपैयाँ असुल्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई ‘ह्याकर’ दाबी गर्दै एक महिलालाई ब्ल्याकमेल गरी ९ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा २३ वर्षीय कमल बहादुर बुढालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने बुढाले पीडित महिलालाई सम्पर्क गरी उनको तस्बिर र भिडियोहरू आफूसँग सुरक्षित रहेको भन्दै डर देखाएका थिए । रकम नदिए ती सामग्रीहरू सामाजिक सञ्जालमा भाइरल गरिदिने धम्की दिँदै उनले पटक–पटक गरी ९ लाख ९५ हजार रुपैयाँ असुल गरिसकेको प्रहरीले जनाएको छ।
पीडितले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुढालाई कीर्तिपुरको सल्यानथानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका बुढामाथि ‘आपराधिक लाभ’ सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको र घटनाबारे थप सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























