
काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) र जगदम्बा–श्री पुरस्कार गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरेको छ।
गुठीको आज (आइतबार) बसेको साधारण सभाले जोशीद्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई मदन पुरस्कार २०८२ प्रदान गर्ने निर्णय गरेको हो। पुस्तकले नेवार समुदायमा प्रचलित परम्परागत मुकुन्डोनाचको सङ्कलन तथा अभिलेखीकरण गरेको गुठीले जनाएको छ।
मदन पुरस्कारका लागि २०८२ सालमा प्रकाशित २९८ पुस्तक प्राप्त भएका थिए। तीमध्ये १० पुस्तक ‘मदन पुरस्कार श्रेष्ठ सूची २०८२’ का लागि छनोट भएका थिए।
श्रेष्ठ सूचीमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी राजभण्डारीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद थिए।
त्यस्तै, ६ दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई २०८२ को जगदम्बा–श्री पुरस्कार अर्पण गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ।
मदन पुरस्कार गुठीले नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट एक पुस्तकलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ। विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति वा संस्थालाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिन्छ।
मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो। पहिलोपटक २०१३ मा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादकलाई मदन पुरस्कार प्रदान गरिएको थियो।
यसैगरी, रानी जगदम्बाको निधनपछि उहाँको सम्झनास्वरूप २०४५ सालमा जगदम्बा–श्री पुरस्कार स्थापना गरिएको हो। यसको पहिलो सम्मान नारायण गोपाललाई प्रदान गरिएको थियो।
यसैबीच, गुठीको साधारण सभाले भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोमा परी स्वदेश तथा विदेशमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। विपद्मा हराइरहेकाहरूको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै उद्धार, राहत र सहयोगमा खटिएका सबैप्रति गुठीले आभार व्यक्त गरेको छ।



















