
खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा बेवारिसे अवस्थामा विस्फोटक पदार्थ फेला परेको छ । दिक्तेल बजारमा पर्ने बेसक्याम्पमा आइतबार साँझ फुटसल ग्राउन्ड निर्माणका लागि जमिन खन्ने क्रममा उक्त विस्फोटक पदार्थ (बम) फेला परेको हो ।
स्थानीयले काम गर्ने क्रममा शंकास्पद वस्तु देखेपछि तत्काल सुरक्षा निकायलाई खबर गरेका थिए । फेला परेको विस्फोटक पदार्थलाई आज (सोमबार) बिहान नेपाली सेनाको टोलीले निष्क्रिय पार्ने तयारी गरेको छ । रणभीम गण मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीका अनुसार आइतबार साँझ ढिलो गरी फेला परेकाले आज बिहानैबाट डिस्पोजल टोली परिचालन गरी त्यसलाई निष्क्रिय पार्ने प्रक्रिया सुरु गरिएको हो ।
द्वन्द्वकालका बेला उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षा फौजले सुरक्षाका लागि राखेको विस्फोटक पदार्थ हुनसक्ने प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । ‘द्वन्द्वकालमा त्यहाँ सुरक्षा फौज बसेको थियो, यो सोही समयको हुनसक्ने हाम्रो अनुमान छ,’ उनले भनिन् ।
विस्फोटक पदार्थ फेला परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै उक्त क्षेत्रलाई अहिले सुरक्षा निकायले घेरा हालेर राखेको छ । विस्फोटक पदार्थ निष्क्रिय नपार्दासम्म आसपासका क्षेत्रमा नजान र विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय खोटाङले स्थानीयवासीलाई आग्रह गरेको छ । अहिले उक्त क्षेत्रको जनजीवन सामान्य रहे पनि सुरक्षा सतर्कता भने बढाइएको छ ।

























