
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो मानवीय क्षति भएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढीमा परी हालसम्म १ हजार ३५३ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाढीको चपेटामा परेका ३ हजार ९९२ जना अझै पनि सम्पर्कविहीन रहेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार फेला परेका शवहरूमध्ये ५३० पुरुष र ३२८ महिला रहेका छन् । बाँकी ४९५ वटा शवहरू पहिचान गर्नै नसकिने गरी क्षतविक्षत अवस्थामा फेला परेका छन् ।
बेपत्ता हुनेहरूको संख्या पनि निकै ठुलो छ । प्रवक्ता काफ्लेका अनुसार बेपत्ता रहेका ३ हजार ९९२ जनामध्ये स्वदेशीतर्फ २ हजार ८२७ पुरुष र ५६७ महिला छन् । यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार १५९ जना घाइतेको सफल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई सुरक्षित स्थानका होल्डिङ सेन्टरहरूमा राखिएको छ ।
यसैगरी, फेला परेका शवहरूको व्यवस्थापन कार्य पनि चुनौतीपूर्ण बनेको छ । हालसम्म १ हजार ४४ वटा शवलाई सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवहरूको पहिचान र व्यवस्थापनको प्रक्रिया जारी रहेको छ ।
बेपत्ताहरूको पहिचान र फेला परेका शवहरूको सनाखत गर्न प्रहरीले डिएनए परीक्षणलाई प्राथमिकता दिएको छ । यस प्रक्रियाका लागि हालसम्म मृतक १ हजार १८१ जना र मृतकका आफन्त १ हजार १९५ जना गरी कुल २ हजार ३७६ जनाको डिएनए नमूना संकलन गरिसकिएको छ ।
अहिले पनि प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली निरन्तर खटिएको छ । सरकारी निकायका विभिन्न टोलीहरूले पनि समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् । कठिन भूगोल र मौसमका बाबजुद सुरक्षाकर्मीहरूले खोजी कार्यलाई तीव्रता दिएका छन् ।

























