भोटेकोशी बाढी: राष्ट्रिय शोक

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार ०७:४२

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सोमबार (आज) देशभर राष्ट्रिय शोक मनाइँदै छ । गत भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हो ।

शोकका अवसरमा आज देशभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

Advertisement

प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांकअनुसार यस अकल्पनीय प्राकृतिक विपत्तिमा परी हालसम्म १ हजार ३५३ जनाले ज्यान गुमाएका छन्। बाढीमा परेर अझै ३ हजार ९९२ जना सम्पर्कविहीन रहेका छन्, जसको खोजी कार्य युद्धस्तरमा भइरहेको छ ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला छन् भने ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा रहेका छन् । पहिचान भएकामध्ये १ हजार ४४ वटा शवलाई सुरक्षित रूपमा व्यवस्थापन गरिसकिएको छ ।

बाढीपछि सुरक्षा निकायले हालसम्म ९ हजार १५९ जना घाइतेको सफल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई विभिन्न होल्डिङ सेन्टरमा सुरक्षित राखिएको छ।

बेपत्ताहरूको पहिचानलाई सहज बनाउन प्रहरीले डिएनए परीक्षणलाई तीव्रता दिएको छ । हालसम्म मृतक र उनीहरूका आफन्त गरी कुल २ हजार ३७६ जनाको डिएनए नमुना संकलन गरिसकिएको छ।

अहिले पनि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली बेपत्ताको खोजी र राहत कार्यमा निरन्तर खटिरहेका छन् । कठिन घडीमा सरकारले नागरिकहरूलाई धैर्य धारण गर्न र खोजी कार्यमा सहयोग गर्न अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×