धनकुटामा १४८ नयाँ उद्योग दर्ता, पुराना १५१ वटा बन्द

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १३:४४

धनकुटा । धनकुटामा नयाँ उद्योग दर्ता गर्ने र पुराना उद्योग बन्द गर्ने क्रम जारी छ । गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा १५१ उद्योग बन्द भएका छन् भने चालु आर्थिक वर्ष २०८३/८४ मा १४८ नयाँ उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख माधव बाँस्कोटाका अनुसार युवामा बढ्दो उत्साह र उद्योग सञ्चालनमा पाइने विभिन्न सेवा तथा सुविधाका कारण नयाँ उद्योग दर्ता गर्ने क्रम बढेको हो । तर, प्रक्रिया र मापदण्डअनुसार छनोट भएका व्यवसायीलाई मात्रै अनुदान वितरण हुने भएकाले अनुदान नपाएका कतिपयले उद्योग बन्द गर्ने गरेको उनले बताए ।

Advertisement

कार्यालयका अनुसार गत आर्थिक वर्षमा बन्द भएका १५१ उद्योगमध्ये १२३ घरेलु तथा साना उद्योग र २८ वाणिज्यतर्फका छन् । सोही वर्ष १४८ नयाँ उद्योग दर्ता भएका थिए ।

कार्यालयका सूचना अधिकारी अर्जुन गिरीका अनुसार नयाँ दर्ता भएका उद्योगमध्ये १११ प्रशासनतर्फ र ३७ वाणिज्यतर्फका छन् । प्रशासनतर्फ उत्पादक मूलक १५, कृषि तथा वनजन्य ५२, पर्यटन १७, सेवामूलक २२ र सूचना प्रविधिसम्बन्धी पाँच उद्योग दर्ता भएका छन् । वाणिज्यतर्फ खाद्यान्न तथा किराना व्यवसायका ३७ उद्योग दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा प्रशासनतर्फ ५१६ र वाणिज्यतर्फ २४८ गरी ७६४ उद्योग नवीकरण भएका छन् । कार्यालयमा हालसम्म चार हजार २९३ उद्योग दर्ता रहेको जनाइएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा उद्योगको पुँजीतर्फ एक करोड ८५५ रुपैयाँ वृद्धि भएको छ भने ३५ लाख १७ हजार ३९९ रुपैयाँ कर संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नयाँ उद्योग दर्ता हुने संख्या भने बढेको छ । अघिल्लो आर्थिक वर्ष १३४ उद्योग दर्ता भएकामा गत आर्थिक वर्ष १४८ उद्योग दर्ता भएका हुन् । त्यस्तै, उद्योग बन्द हुने संख्या पनि उल्लेख्य घटेको छ । अघिल्लो आर्थिक वर्ष ३३६ उद्योग बन्द भएकामा गत आर्थिक वर्ष १५१ उद्योग मात्रै बन्द भएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×