
विराटनगर । मोरङ कारागारभित्र कैदीबन्दीबीच पुनः विवाद र झडप भएपछि प्रशासनले थप १८ जना कैदीबन्दीलाई अन्य जिल्लाका कारागारमा स्थानान्तरण गरेको छ । विराटनगर महानगरपालिका–८ स्थित कारागारको ‘बी’ ब्लकमा समूह खडा गरी अराजकता मच्चाएको र अन्य कैदीबन्दीलाई यातना दिएको आरोपमा उनीहरूलाई सोमबार स्थानान्तरण गरिएको हो ।
यसअघि, कारागारभित्र वर्षौंदेखि आफ्नो दबदबा कायम राख्दै आएका मुख्य नाइके भारतीय नागरिक चञ्चल बरमन र मनिष विश्वकर्मासहित १९ जनालाई सात जिल्लाका विभिन्न कारागारमा पठाइएको थियो । उक्त कारबाहीको तीन दिन बित्न नपाउँदै सोही समूहका बाँकी सदस्यहरूबीच फेरि आन्तरिक विवाद र झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले थप कडा कदम चालेको जनाएको छ ।
‘बी’ ब्लकभित्र कैदीबन्दीका दुई समूहबीच सोमबार दिउँसो झगडा भएको जिल्ला कारागार मोरङका प्रमुख राजन घिमिरेले जानकारी दिए । उनका अनुसार यसअघि स्थानान्तरण गरिएका कैदीहरूकै समूहका सदस्यहरूले पुनः विवाद गर्न थालेपछि थप १८ जनालाई अन्य कारागार पठाइएको हो ।
कारागार प्रशासनका अनुसार १० जनालाई मकवानपुरको भीमफेदी कारागार, ३ जनालाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) कारागार, ३ जनालाई चितवन कारागार र २ जनालाई सुनसरीको झुम्का कारागारमा स्थानान्तरण गरिएको छ । कारागारभित्र अशान्ति फैलाउने र नियम उल्लंघन गर्नेहरूलाई स्थानान्तरण गरेपछि अहिले त्यहाँको स्थिति सामान्य र शान्त रहेको कारागार प्रशासनले जनाएको छ ।

























