जलवायुजन्य विपद्को क्षतिपूर्ति माग्दै नेपालले राख्यो २० मिलियन डलरको दाबी

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार ०७:२४

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति माग गर्दै नेपालले अन्तर्राष्ट्रिय हानि तथा नोक्सानी कोषसमक्ष २० मिलियन अमेरिकी डलर अर्थात् तीन अर्ब रुपैयाँभन्दा बढी रकमको दाबी पेस गरेको छ ।

जलवायु परिवर्तनका कारण नेपालमा यस्ता विपद्का घटना बढिरहेको र त्यसबाट ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको भन्दै नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनाअन्तर्गतको फन्ड फर रेस्पोन्डिङ टू लस एन्ड ड्यामेजमा प्रारम्भिक क्षतिपूर्ति माग गरेको हो । नेपालले गत साता कोषलाई पत्र पठाउँदै २० मिलियन अमेरिकी डलरको प्रारम्भिक दाबी गरेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।

Advertisement

पत्रकार सुधीर शर्मासँगको पडकास्ट अन्तर्वार्तामा उनले विपद्पछिको विस्तृत क्षति मूल्यांकनपछि थप विवरणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको दाबी प्रस्तुत गरिने जानकारी दिए । ‘तत्काललाई २० मिलियन डलरको दाबी गरेका छौं । यो प्रारम्भिक माग मात्र हो,’ खनालले भने, ‘विपद्पछिको क्षति मूल्यांकन गरेर विश्वसामु हाम्रो कुरा राख्नेछौं ।’

नेपालका तर्फबाट पठाइएको पत्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हस्ताक्षर गरेका छन् । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने नेपालले गम्भीर रूपमा भोगिरहेको विज्ञहरूको भनाइ छ ।

नेपाल हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकमध्ये निकै न्यून योगदान गर्ने देशमा पर्छ । त्यसैले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि क्षतिपूर्ति पाउने आधार नेपालसँग रहेको वातावरणविद्हरू बताउँछन् ।

वातावरणविद्हरूका अनुसार नेपालले बाढी, पहिरो, हिमताल विस्फोटलगायत जलवायुजन्य विपद्बाट भोगेको क्षतिको विवरण अन्तर्राष्ट्रिय कोषमा प्रभावकारी रूपमा प्रस्तुत गर्न आवश्यक छ । जलवायु सन्तुलन कायम गर्न नेपालले गरेको योगदानलाई समेत क्षतिपूर्ति दाबीको आधार बनाउनुपर्ने उनीहरूको भनाइ छ ।

हानि तथा नोक्सानी कोषको रकम वितरण र त्यससम्बन्धी निर्णय अन्तर्राष्ट्रिय बोर्डले गर्छ । रसुवाको बाढीबाट भएको क्षति र जलवायु परिवर्तनमा नेपालको न्यून योगदानलाई आधार मान्दा नेपालले कोषबाट सहयोग पाउनुपर्ने वातावरणविद्हरूको तर्क छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति गरेको थियो । बाढीका कारण मानवीय क्षतिसँगै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक असर परेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×