
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा खसेको पहिरोको कारण १० दिनदेखि सडक अवरुद्ध हुँदा हेटौँडा– काठमाडौं सडकमा सवारीको चाप बढेको छ ।
मुख्य सडकबाट आवागमन हुन नसकेपछि काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गर्दा हेटौँडा– काठमाडौं सडकमा सवारी चाप अत्यधिक बढेको हो । सवारीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि साना–ठूला सवारीलाई काठमाडौं–हेटौँडा आवतजावत गर्न छुट्टाछुट्टै रुट तोकेको छ ।
१० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौंतर्फ आउन त्रिभुवन राजपथ र फर्कँदा कान्ति राजमार्ग प्रयोग भइरहेको छ । हेटौँडाबाट काठमाडौंतर्फ आउने १४ सिटभन्दा कम क्षमताका सवारीसाधनलाई भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै आउजाउ गर्न रुट तोकिएको छ । काठमाडौंबाट हेटौँडातर्फ जाने गाडी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्गमा चलेका छन् ।
साँघुरो पहाडी सडकमा एकै पटक बढेको ट्रक, बस तथा अन्य सवारीसाधनको चापका कारण यात्रुले लामो समय जाममा बस्नुपर्ने अवस्था छ । यसले नियमित आवागमन मात्र होइन, काठमाडौंका लागि अत्यावश्यक वस्तु तथा ग्यासलगायतका सामग्रीको ढुवानीसमेत प्रभावित बनाएको छ ।
कृष्णभीरमा पहिरो खसेपछि पश्चिम नेपालतर्फ जाने सार्वजनिक यातायात, ग्यास, खाद्यान्नसहित अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीले यो बाटो प्रयोग गर्दै आएका छन् । करिब ३ घण्टाको हेटौँडा–काठमाडौं सडक यात्रा सवारी चापका कारण अहिले पाँच घण्टासम्म लाग्ने गरेको छ ।

























