
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै एक खर्ब ९० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन’ प्रतिवेदनअनुसार बाढीबाट भएको क्षतिको पुनरुत्थानका लागि चार खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
प्रतिवेदनअनुसार ऊर्जा क्षेत्रमा बाढीका कारण कुल ७५९ दशमलव ०२५ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । यसमा २४ दशमलव ३६ मेगावाट क्षमताका पाँच वटा सोलार प्लान्टसमेत छन् । बाढीका कारण एउटा सबस्टेसन, तीन वटा ट्रान्समिसन लाइन, एउटा स्विचयार्ड र एउटा वितरण लाइनमा क्षति पुगेको छ । ऊर्जा क्षेत्रमा मात्रै एक खर्ब ५१ अर्ब चार करोड रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । यस क्षेत्रको पुनरुत्थानका लागि तीन खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
बाढीले घरायसी नवीकरणीय ऊर्जा क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ । प्रतिवेदनअनुसार दुई हजार ४५० वटा सोलार होम सिस्टम, दुई हजार ७४० वटा बायोग्यास प्रणाली, १३ वटा संस्थागत सोलार प्रणाली, ९२ किलोवाट क्षमताको लघु जलविद्युत्, १८५ वटा वाटरमिल र ७९५ वटा खाना पकाउने चुल्होमा क्षति पुगेको छ । घरायसी नवीकरणीय ऊर्जातर्फ ५६ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पुनरुत्थानका लागि एक अर्ब ६४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
बाढीका कारण ६९ किलोमिटर सडकमा क्षति पुगेको अनुमान गरिएको छ । त्यसमध्ये ५५ किलोमिटर सडकमा पूर्ण क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा पनि १५० मिटर सडकमा क्षति पुगेको छ । सडक संरचनातर्फ २३ अर्ब ४२ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पुनरुत्थानका लागि ५५ अर्ब १८ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
बाढीका कारण ३३ वटा मोटरेबल पुल बगेका छन् भने चार वटा पुलमा आंशिक क्षति पुगेको छ । त्यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ । तीमध्ये ३३ वटा झोलुङ्गे पुलमा पूर्ण क्षति भएको छ । पुलतर्फ मात्रै ११ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ भने पुनरुत्थानका लागि १८ अर्ब १६ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
बाढीका कारण सञ्चार क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । एनसेलका २७ वटा र नेपाल टेलिकमका ३८ वटा बिटिएस टावर प्रभावित भएका थिए । तीमध्ये अधिकांश अहिले सञ्चालनमा आइसकेका छन् । बाढीले १५२ दशमलव तीन किलोमिटर फाइबर केबल तथा दुई वटा ट्रान्समिसन प्रणाली, एफटिटिएच र आइएसपी सेवामा समेत प्रभाव पारेको थियो । सञ्चार क्षेत्रमा करिब ६३ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पुनरुत्थानका लागि ९४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
खानेपानी तथा सरसफाइ क्षेत्रमा एक अर्ब ३८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । यस क्षेत्रको पुनर्निर्माणका लागि दुई अर्ब सात करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । बाढीका कारण १६ वटा इनार, ९८ वटा इन्टेक, १६० वटा ट्याङ्की र ४४३ दशमलव नौ किलोमिटर पाइपलाइन प्रभावित भएका छन् । त्यस्तै, सिँचाइ तथा नदी संरक्षणतर्फ चार हजार ९९० मिटर नदी संरक्षण संरचना, ७०० हेक्टर सिँचाइ क्षेत्र र छ वटा जलसतह मापन केन्द्र प्रभावित भएका छन् । यस क्षेत्रमा करिब एक अर्ब ६५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ भने पुनरुत्थानका लागि चार अर्ब ९४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

























