मोरङ कारागारमा मोबाइल र १० लाख नगद भेटिएपछि सुरक्षामा प्रश्न

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार १८:२७
मोरङ कारागारमा मोबाइल र १० लाख नगद भेटिएपछि सुरक्षा प्रश्नमा

विराटनगर । जिल्ला कारागार मोरङको ‘बी’ ब्लकबाट मोबाइल, नगदका साथै फलामको रड फेला परेको छ । लामो समयदेखि विवादित रहँदै आएको ‘बी’ ब्लकबाट प्रहरी बिहीबार ‘सर्च’का क्रममा नगद, मोबाइल र रड बरामद गरेको हो ।

कैदीबन्दीको एक समूहले कब्जा गर्दै आएको ‘बी’ ब्लकबाट केही दिनअघि मात्रै कब्जा गर्ने समूहका ३७ जनालाई विभिन्न कारागारमा पठाएपछि प्रहरी र जेल प्रशासनलाई भित्र पस्न सहज भएको हो । ‘बी’ ब्लकमा नाइके, चौकीदार लगायत मिलेर अन्य कैदीबन्दीलाई कुटपिट गर्ने, यातना दिने जस्ता कार्य गर्दै आएका थिए । तर, ‘बी’ ब्लकमा नाइके, चौकीदार लगायतबाट पीडित भएका समूहले चलाखी पूर्ण तवरबाट उनीहरूलाई कारागारबाट बाहिर निकालेर प्रहरीलाई जिम्मा दिएपछि प्रहरी र जेल प्रशासनलाई भित्र पस्न सहज भयो ।

Advertisement

यस क्रममा, बिहीबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गरेको सर्चका क्रममा ‘बी’ ब्लकबाट दुई थान मोबाइल, नगद १० लाख ३ हजार १ सय ५५ रुपैयाँ र आठ वटा फलामे रड बरामद भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।

प्रहरीको संयुक्त टोलीले गरेको सर्चका क्रममा ‘बी’ ब्लकको कोठा नम्बर १ बाट दुई थान मोबाइल बरामद भएको हो । उक्त कोठामा जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मनिष विक बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानमा उनले सिम कार्ड प्रयोग गरी लामो समयदेखि कारागारबाहिर सम्पर्क गर्दै आएको खुलेको छ । कारागारभित्र व्यक्तिगत मोबाइल प्रयोग गर्न प्रतिबन्ध रहे पनि ती मोबाइल कसरी प्रवेश गरे भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सर्चका क्रममा ‘बी’ ब्लकभित्रबाट १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद, दुई थान मोबाइल, बेल्चा, फलाममा पाइप र रड बरामद गरेको बताउँदै, मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले भने, ‘कारागार ‘सर्च’ प्रहरीको नियमित कार्य नै हो । तर, केही समयदेखि समस्या भएकाले ‘सर्च’ अभियान भएको थिएन । ‘बी’ ब्लकभित्र रहेका केही कैदीबन्दीले भित्रबाट ताला लगाएको भएर समस्या भएको थियो । अहिले ३७ जना कैदीबन्दीलाई स्थानान्तरण गरेपछि सहज भएको छ ।’

‘सर्च’ गर्दा भेटिएका नगद, मोबाइल र अन्य सामान कसरी, कसले, कहिले लगेको भन्ने विषयमा अनुसन्धान थाली सकेको हुँदा थप कुरा अनुसन्धानपछि सबै आउने, डीएसपी मिश्रले भने ।

यस्तै, मनिष विक बस्ने कोठा नम्बर १ को छेउको कोठा नम्बर २ बाट आठ वटा फलामे रड बरामद भएको छ । उक्त कोठामा तत्कालीन चौकीदार विशाल निरौला र भारतीय नागरिक चञ्चल बर्मा बस्दै आएका थिए ।

यसअघि दुई चरणमा ३७ जना कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको थियो । उनीहरूको स्थानान्तरणपछि मात्रै प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ‘बी’ ब्लकमा प्रवेश गरी सर्च गरेको हो । हाल ‘बी’ ब्लकमा ५२९ जना कैदीबन्दी रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×