
धरान । सर्पदंशबाट गम्भीर बनेकी इटहरीकी बालिकालाई २८ मिनेटमै रेफर गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।
बालिकाको प्रारम्भिक उपचार गरिएको र बाल सघन उपचार कक्ष (पीआईसीयू)मा बेड उपलब्ध नभएपछि अन्यत्र रेफर गरिएको प्रतिष्ठानले स्पष्ट पारेको हो । प्रतिष्ठानका अनुसार ८ वर्षीया आस्वाना चौहानलाई सर्पले टोकेको भन्दै उपचारका लागि भदौ २४ गते साँझ ६ः४७ बजेतिर ल्याइएको थियो । प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शम्शेर श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार परीक्षण गर्दा बालिकाको अवस्था गम्भीर रहेको थियो ।
श्रेष्ठका अनुसार बालिकाको मुटुको धड्कन चलिरहेको र आफैं श्वासप्रश्वास गरिरहे पनि उनी अर्धचेत अवस्थामा थिइन् । बोलाउँदा प्रतिक्रिया नदिने र आँखाले नहेर्ने अवस्था रहेको चिकित्सकले पाएका थिए ।
गम्भीर अवस्थालाई ध्यानमा राख्दै चिकित्सक टोलीले तत्काल आपतकालीन उपचार सुरु गरेको प्रतिष्ठानले जनाएको छ । श्वासप्रश्वास सहज बनाउन इन्टुबेसन गर्नुपर्ने विषयमा अभिभावकलाई जानकारी गराएर अनुमति लिएपछि बालिकालाई इन्टुबेट गरिएको जानकारी श्रेष्ठले दिए । त्यससँगै एन्टी–स्नेक भेनम (एएसभी) र नर्मल सलाइनसमेत सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उपचारकै क्रममा बालिकाको मुटुको धड्कन अचानक कम भएपछि चिकित्सक टोलीले तत्काल सीपीआर दिएको र त्यसपछि मुटुको धड्कन पुनः सामान्य अवस्थामा फर्किएको प्रतिष्ठानले जनाएको छ । तर, प्रतिष्ठानमा तत्काल पीआईसीयूको बेड खाली नभएकाले थप उच्चस्तरीय सघन उपचार आवश्यक पर्ने जानकारी बालिकाका आफन्तलाई गराइएको प्रा. डा. श्रेष्ठको भनाइ छ ।
त्यसपछि साँझ ७ः१५ बजे अक्सिजनसहितको एम्बुलेन्समा ब्याग एन्ड मास्कमार्फत अक्सिजन दिँदै बालिकालाई सावधानीपूर्वक अन्य अस्पतालमा रेफर गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले बालिकालाई उपचार नै नगरी फर्काइएको भन्ने बुझाइ हुन नदिन उपचारका क्रममा अपनाइएका प्रक्रियाका बारेमा विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।
प्रतिष्ठानका अनुसार बालिकालाई आकस्मिक कक्षमा ल्याइएपछि तत्काल उपचार प्रक्रिया अघि बढाइएको थियो । तर, गम्भीर अवस्थाका कारण थप उपचारका लागि पीआईसीयू आवश्यक भएकाले बेड उपलब्ध नभएपछि रेफर गरिएको हो ।
बालिकालाई त्यसपछि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ ।
इटहरीमा बालिकालाई सर्पले डस्यो, अस्पताल चहार्दा चहार्दै मृत्यु
























