
इलाम । इलामको चुलाचुली गाउँपालिका–३ स्थित सुकुना खोलाबाट काठ तस्करीमा प्रयोग भएको मोटरसाइकलसहित साल जातका चिरान काठ बरामद गरिएको छ । वन सहायक धनिरामसिंह कुशवाहा र वन सहायक सीता योगीको नेतृत्वमा चुलाचुली सब डिभिजन वन कार्यालय, बारगोठेका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले काठ र ओसारपसारमा प्रयोग भएको मोटरसाइकल बरामद गरेको हो ।
नियमित गस्तीका क्रममा सुकुना खोलामा काठ लोड गरिएको अवस्थामा मे २ प २००५ नम्बरको हिरो होन्डा मोटरसाइकल, सात थान सालको चिरान काठ र तस्करीमा प्रयोग गरिएको मोबाइलसहितको झोला बेवारिसे अवस्थामा फेला परेको वन सहायक धनिरामसिंह कुशवाहाले जानकारी दिए । वन कर्मचारी गस्तीमा रहेको थाहा पाएपछि तस्करहरू काठ र मोटरसाइकल छाडेर फरार भएको उनले बताए। फरार व्यक्तिको खोजी भइरहेको कुशवाहाले जानकारी दिए ।
ठूलो संख्यामा वन कर्मचारी सरुवा तथा स्थानान्तरण भइरहेका बेला मौका छोपेर वन तस्कर सक्रिय भएको हुनसक्ने जनाइएको छ । सीमित स्रोतसाधनका बाबजुद पनि डिभिजन वन कार्यालय इलामले मातहतका सब डिभिजन वन कार्यालयलाई वन संरक्षणमा सघन रूपमा अहोरात्र खटाइरहेको सूचना अधिकारी भुवनमणि शर्माले बताए ।



















