बाढीले बैंकका १७ शाखामा क्षति, ७२ करोडभन्दा बढी नोक्सानी

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार १४:२९

काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखामा क्षति पुगेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार बैंकिङ क्षेत्रमा मात्रै ७२ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रतिवेदनअनुसार सबैभन्दा ठूलो क्षति कृषि विकास बैंकको एक शाखामा भएको छ। उक्त शाखामा ६५ करोड रुपैयाँ बराबरको नोक्सानी भएको उल्लेख छ । सिटिजन बैंकको एक शाखामा १ करोड ५६ लाख, लक्ष्मी सनराइज बैंकको एक शाखामा १ करोड १२ लाख र एनआईसी एसिया बैंकका तीन शाखामा ८८ लाख रुपैयाँ क्षति भएको छ ।

Advertisement

त्यस्तै, हिमालय बैंक, माछापुच्छ्रे बैंक र उत्तरगया क्षेत्रमा रहेको एक बैंक शाखामा ७५–७५ लाख रुपैयाँ, सानिमा र नबिल बैंकका एक–एक शाखामा ६३–६३ लाख तथा प्रभु बैंकका दुई शाखामा ५३ लाख रुपैयाँ क्षति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका तीन शाखामा ४० लाख, ग्लोबल आईएमई बैंकको एक शाखामा ११ लाख र एनएमबी बैंकको एक शाखामा ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

भौगोलिक रूपमा सबैभन्दा बढी क्षति नुवाकोटको विदुर नगरपालिकामा भएको छ । त्यहाँका चार शाखामा मात्रै ६७ करोड १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका ११ शाखामा ४ करोड २३ लाख, कालिका गाउँपालिकामा २८ लाख र उत्तरगया गाउँपालिकामा ७५ लाख रुपैयाँ क्षति भएको छ । प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैंकिङ क्षेत्रबाहेक थप १९ करोड ५९ लाख रुपैयाँ बराबरको अन्य क्षति भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×