फायल तस्बिरखाँदबारी । संखुवासभामा प्रहरीले तीन नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । मादी नगरपालिका–४ पुरानो गाउँका ४२ वर्षीय कुलबहादुर जिमी पक्राउ परेका हुन् ।
जिमीले बिना इजाजतपत्र भरुवा बन्दुक लुकाइछिपाइ राखेको र प्रयोग गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मंगलबारे मादीबाट खटिएको टोलीले जिमीको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा तीन नाल भरुवा बन्दुक फेला पारेको संखुवासभा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर धनबहादुर राजवंशीले बताए ।
प्रहरीले बन्दुक बरामद गरी शुक्रबार जिमीलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय चैनपुरमा राखिएका उनीमाथि प्रहरीले हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।



















