भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार २०:१४

काठमाडौं। भोटेकोशी विपदका कारण स्थगित भएको करदाता प्रोत्साहन उपहार कार्यक्रमको घोषणा अब असोज १ गते हुने भएको छ। आन्तरिक राजस्व विभागले भदौ महिनाभरिको पुरस्कारका लागि विजेता छनोट गर्ने तयारी गरेको हो। कर प्रणालीमा उपभोक्तालाई अभ्यस्त गराउन र बिल लिने बानी बसाल्न सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत यो कार्यक्रम ल्याएको थियो।

विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म कारोबार गरेका उपभोक्तामध्येबाट १५ जना र सोही अवधिबाट एक जना गरी १६ जना छनोट गरिनेछ। त्यसैगरी दोस्रो चरणमा भदौ १६ देखि ३१ गतेसम्मका १६ जना र एक जना बम्पर विजेता गरी कुल ३३ जनालाई पुरस्कार प्रदान गरिनेछ।

Advertisement

दैनिक विजेताले एक लाख ३३ हजार ३३४ रुपैयाँ र बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। पुरस्कार रकममा २५ प्रतिशत कर कट्टी हुनेछ। जसअनुसार दैनिक विजेताले एक लाख रुपैयाँ र बम्पर विजेताले सात लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।

पुरस्कारका लागि योग्य हुन उपभोक्ताले १०० रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा भ्याट वा प्यान बिल लिनुपर्नेछ। अनलाइन भुक्तानी गर्नेको विवरण प्रणालीमा स्वतः समावेश हुनेछ भने नगद कारोबार गर्नेले विभागको पोर्टलमा बिल अपलोड गरी कुपन लिनुपर्ने व्यवस्था छ। साउन महिनामा पनि ३३ जनाले यस प्रकारको पुरस्कार जितेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×