साँफेबगर र चौरपाटीमा सामुदायिक बीउ बैंक स्थापना हुँदै

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार १२:५४

अछाम । अछामका दुई स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना हुने भएका छन् । साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा स्थानीय जातका बाली तथा बीउको संरक्षण गर्दै कृषकलाई गुणस्तरीय बीउ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सामुदायिक बीउ बैंक स्थापना गर्न लागिएको हो ।

स्थानीय संस्था शान्तिदीप र वाक नेपालको पहलमा सञ्चालित पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशील कृषि प्रणालीमा महिला सहभागिता कार्यक्रमको सहयोगमा दुवै स्थानीय तहमा बीउ बैंक स्थापना गर्न लागिएको हो । सामुदायिक बीउ बैंकको स्थापना तथा सञ्चालन सम्बन्धित पालिका र कृषि ज्ञान केन्द्र अछामसँगको सहकार्य तथा साझेदारीमा गरिने जनाइएको छ ।

Advertisement

बीउ बैंक स्थापनाको तयारीस्वरूप भदौ २३ देखि २५ गतेसम्म साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा सामुदायिक बीउ बैंक स्थापना तथा व्यवस्थापनसम्बन्धी तीनदिने तालिम आयोजना गरिएको थियो । तालिममा कार्यक्रमका कर्मचारी, हातेमालो बहुउद्देश्यीय सहकारी संस्था, त्रिपुरा कृषि सहकारी संस्था तथा दुवै पालिकाका कृषि शाखा र कृषि ज्ञान केन्द्र अछामका कर्मचारी गरी २५ जनाको सहभागिता थियो ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले स्थानीय बालीका महत्वपूर्ण जातहरू लोप हुँदै गइरहेको अवस्थामा उपलब्ध स्थानीय बाली विविधताको संरक्षणका साथै कृषकलाई गुणस्तरीय बीउ सहज रूपमा उपलब्ध गराउन सामुदायिक बीउ बैंक आवश्यक रहेको बताए । उनले बीउ बैंकको स्थापना तथा सञ्चालनका लागि नगरपालिकाबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

तालिमका क्रममा साँफेबगर नगरपालिकामा हातेमालो बहुउद्देश्यीय सहकारी संस्थामार्फत ‘हातेमालो सामुदायिक बीउ बैंक’ र चौरपाटी गाउँपालिकामा त्रिपुरा कृषि सहकारी संस्थामार्फत ‘त्रिपुरा सामुदायिक बीउ बैंक’ स्थापना गर्ने प्रारम्भिक कार्ययोजना तयार गरिएको छ । तीनदिने तालिमको सहजीकरण सामुदायिक बीउ बैंक विज्ञ तथा सामुदायिक बीउ बैंक संघ नेपालका कार्यक्रम सल्लाहकार पीताम्बर श्रेष्ठले गरेका थिए ।

हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरत भुलले तालिम निकै उपयोगी भएको बताए । उनले सामुदायिक बीउ बैंकका विषयमा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको र तालिमबाट सिकेका विषयलाई सहकारीले तत्काल कार्यान्वयनमा ल्याउने जानकारी दिए ।

त्यस्तै, त्रिपुरा कृषि सहकारी संस्थाका अध्यक्ष रामबहादुर कुँवरले तालिमपछि चौरपाटी गाउँपालिकामा सामुदायिक बीउ बैंकको आवश्यकता अझ स्पष्ट भएको बताए । उनले बीउ बैंक स्थापनालाई प्रभावकारी बनाउन चौरपाटी गाउँ कार्यपालिकाले आवश्यक कानुनी व्यवस्था गरी सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×