
काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने भएका छन् । भदौ २९ गते सोमबार परेको तीजका दिन दर्शनार्थीको सुविधाका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
दर्शनार्थीको व्यवस्थापनका लागि मन्दिर बाहिर पाँच वटा लाइन र मन्दिर परिसरभित्र प्रवेश गरेपछि आठ वटा लाइनको व्यवस्था गरिएको छ । तीजमा महिला दर्शनार्थीको संख्या उल्लेख्य हुने भएकाले महिला सुरक्षाकर्मीको संख्या बढाउन सरकारसँग अनुरोध गरिएको कोषले जनाएको छ ।
तीज महिलाको विशेष पर्व भएकाले विगतमा जस्तै निश्चित कोर क्षेत्रभित्र सामान्यतया पुरुष प्रवेश गर्न नपाउने व्यवस्था कायम रहने छ । महिला हिंसा हुन नदिन मेला अवधिभर सुरक्षा गस्ती तथा अनुगमन बढाइने कोषले जनाएको छ ।
त्यस्तै, भीड व्यवस्थापन तथा सहज आवागमनका लागि ट्राफिक व्यवस्थापनमा समेत विशेष ध्यान दिइएको छ । विशिष्ट व्यक्तिका सवारीसाधन पार्किङका लागि कोषको कार्यालय परिसर प्रयोग गरिने व्यवस्था मिलाइएको छ ।
अन्य दर्शनार्थीका सवारीसाधनका लागि भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा र उमाकुण्ड पार्किङस्थल तोकिएको छ ।
तीजका दिन पशुपतिनाथ मन्दिरमा ठुलो संख्यामा दर्शनार्थी आउने भएकाले सुरक्षा, दर्शन व्यवस्थापन, पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने तयारी गरिएको कोषले जनाएको छ ।

























